पोखराका ४२ प्रख्यात पर्यटकीय गन्तव्यहरु

पर्यटकीय गन्तव्यका दृष्टिले कास्की जिल्ला नेपालकै उत्कृष्ट जिल्ला मानिन्छ। यहाँ सबै पर्यटकीय स्थलहरु छन्, जसले स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने गर्दछ। हामीले यहाँ कास्कीका उत्कृष्ट ४२ पर्यटकीय गन्तव्यबारे संक्षेपमा चर्चा गरेका छौं।

(१) फेवाताल

पर्यटकीय नगरी पोखराको मुटुको रुपमा रहेको फेवाताल कास्की जिल्लाको मात्र नभई नेपालको एउटा प्रमुख पर्यटकीय स्थल हो। यो ताल नेपालमा रहेका तालहरुमध्येको सुन्दर ताल पनि हो। पोखरा उपत्यकाको पश्चिमतर्फ अवस्थित यस रमणीय तालको लम्वाई करिव ४.८ कि.मी. र चौडाई १.५ कि.मी.सम्म रहेको पाइन्छ। यस तालको क्षेत्रफल १०.१ वर्ग कि.मी. रहेकोमा हाल विभिन्न कारणले पुरिएर तालको क्षेत्रफल ४.४३ वर्ग कि.मी. रहेको पाइन्छ। गहिराई करीब २४ मिटरसम्म रहेको यस तालमा सुन्दर माछापुच्छे्र हिमालको प्रतिविम्व स्पष्ट देख्न सकिन्छ। बैदामको किनारामा रहेका हुनाले र तालको बीचमा तालवाराही मन्दिर रहेकोले यसलाई वैदाम ताल तथा वराहताल पनि भन्ने गरिन्छ। तालको बीचमा प्रसिद्घ तालवाराही मन्दिर रहेको छ।

(२) पाताले छाँगो (डेभिड फल)

डेभिड फल पोखराको छोरेपाटनमा पर्दछ। यस छाँगाको पानीको मुहान फेवाताल हो। फेवातालको ड्यामसाइडबाट निस्केको पानी यहाँ छागाँको रुपमा खसेर पातल हुँदै फुस्रेखोलामा निस्कन्छ। यो छागाँ पोखराको केन्द्र पृथ्वीचोकबाट दक्षिण पश्चिमतर्फ गुुप्तेश्वर गुफाको उत्तरपट्टी सिद्धार्थ राजमार्गको किनारमा रहेको छ। यस स्थलको अवलोकन गर्न वार्षिक करीब २ लाख पर्यटकहरु आउने गर्दछन्। स्वीस दम्पती यो छाँगोभन्दा केही माथि नुहाइरहेको आवस्थामा अचानक फेवातालको बाँध खोलिएकाले श्रीमती डेभिडलाई बगाई लगेको र उनको मुत्यु भएको हुँदा वि.सं. २०१८ देखि यसको नाम डेभिड फल रहन गएको भनाइ छ। यो छाँगाको गहिराई करीब १०० मिटर रहेको छ।

(३) महेन्द्रगुफा

पोखरालाई पर्यटकीय नगरीका रुपमा परिचित गराउने स्थानमध्ये महेन्द्रगुफा पनि एक हो। पोखरा उपत्यकाको उत्तरतर्फ पर्ने यो गुफा पोेखराको बाटुलेचौरमा पर्दछ। गुफा क्षेत्रले करीब ४६ रोपनी जग्गा ओगटेको छ। गुफा दुई भागमा बाँडिएको छ। गुफाभित्र हात्तीको सुँड, गाईका स्तनहरु, शिवलिङ्ग, नाग आदि आकृत्तिहरु रहेको देख्न सकिन्छ। जनकवि केशरी धर्मराज थापाका भनाइमा तत्कालिन राजा महेन्द्र यस गुफाभित्र पुगेपछि यसको नाम सोधेको र आफैले गुफाभित्र पसी अवलोकन गरेपछि आजदेखि यसको नाम महेन्द्र गुफा भनेर नामाकरण गरियो। गुफाको लम्वाई १२५ मिटर रहेको छ। गुफाको वार्षिक करीब १ लाख स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्दछन्।

(४) चमेरे गुफा

पोखरामा रहेको अर्काे महत्वपूर्ण गुफा चमेरे गुफा हो। पोेखराको बाटुलेचौरमा महेन्द्र गुफाभन्दा केही पश्चिमपट्टी यो गुफा रहेको छ। गुफाको बनोट चुनढुङ्गाबाट बनेको र गुफाभित्र विभिन्न आकारका मूर्ति, शिवलिङ, श्रीपेच, गणेश आदि चित्राकृतिहरु देख्न पाइन्छ। गुफाभित्र दशहजार चमेराहरु रहेका छन् र गुफाको एउटा प्वालबाट पसेर अर्काे प्वालबाट निस्कन सकिन्छ। आन्तरिक तथा वाह्य पर्यटकीय दृष्टिले यस गुफा अवलोकन गर्न वार्षिक हजारौंको संख्यामा मानिसहरु आउने गर्दछन्।

(५) गुप्तेश्वर गुफा

यो प्रसिद्घ गुफा पोेखराको छोरेपाटनमा पर्दछ, जो सिद्धार्थ राजमार्गको छेउमा पर्दछ। पोखराको प्रसिद्घ पाताले छाँगोदेखि दक्षिणपट्टी रहेको यो गुफा दिन प्रतिदिन व्यवस्थित र प्रसिद्घ हुदै गइरहेको भेटिन्छ। यस गुफाको बारेमा व्रिटिश कार्श रिसर्च सेन्टरले समेत सन् १९७०, १९८० र १९८२ मा अनुसन्धान गरी तथ्यहरु प्रकाशनमा ल्याएको देखिन्छ। गुफाको प्रवेशद्घारदेखि करीब ४०० फिट सुरुङभित्र प्राकृतिक आश्चर्यको रुपमा शिव, पार्वती, नाग, गणेश, मुसा सहितको शीलामूर्ति प्रतिस्थापन गरिएको छ। यस मूर्ति ३०० फीट तल सुरुङ मार्ग हुुँदै पाताले छाँगोको पिंध भागमा पुगेर मनमोहक दृश्यहरु देख्न सकिन्छ। यसलाई वात्सायन महर्षिले तप गरेको पुण्य भूमिको रुपमा बुझिन्छ। गुफामा वार्षिक १ लाख भन्दा बढी पर्यटक आउँछन्।

(६) विन्ध्यवासिनी मन्दिर

पोखरा–२ मा अवस्थित यो प्रसिद्घ शक्तिपीठ कास्की जिल्लाकै एक महत्वपूर्ण र आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको छ। यस मन्दिर स्थलबाट उत्तरतर्फका प्रफुल्ल मुद्रामा रहने हिमालयहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। विन्ध्यवासिनी मन्दिरको उत्पत्ति तत्कालीन राजा खड्गवम मल्लले विन्ध्यवासिनीको चैतन्य मूर्तिलाई भारतबाट लिई नेपाल आउने (पांगा जाने) क्रममा पोखरामा वास बस्दा देवीले दिव्य दर्शन दिई “मलाई यो ठाउँ पवित्र लाग्यो, मलाई पाँगा नलगे हुन्छ” भनेको हुनाले सो मूर्ति पोखरामा स्थापन भएको भन्ने एकथरिको भनाइ छ। यस मन्दिर परिसरमा राधाकृष्ण मन्दिर तथा शिव पार्वती मन्दिर समेत निर्माण गरिएको पाइन्छ। यस मन्दिर ढुंगाको गारोमा वज्रलेपन गरी बनाइएको र गुम्वज शैलीमा बनेको छ। पोखराको पुरानो धार्मिक क्षेत्र र शक्तिपीठको रुपमा यस मन्दिरलाई मानिँदै आइएको छ।

(७) धर्मशीला वुद्घ विहार

पोखराको नदीपुरमा धर्मशीला वुद्घविहार रहेको छ। पोखरा उपत्यकामा अवस्थित यो वुद्घविहारले अनेकौ किसिमका विशेषता र पहिचान कायम गर्दै आएको पाइन्छ। यस विहारभित्र एउटा चौका चिनी त्यसमाथि वुद्घको ढलौटको दाहिने हातले जमिन स्पर्श गरेको पद्माशनमा बसेको प्रतीमा राखिएको छ, उक्त प्रतिमाको दायाँबायाँ सारिपुत्र तथा मौदगल्यानका ढलौटकै प्रतिमा (मूर्तिहरु) दुवै हात जोडी नमस्कार गरेको अवस्थामा उभ्याइराखेका छन्। उक्त मूर्तिहरु वि.सं. २०४० सालमा थाइल्याण्डका भिक्षु श्री सोमछाई प्रेमसुक र उनको थाई उपासिकाको सौजन्यबाट प्राप्त भएको बताइन्छ। थाइल्याण्डमै निर्मित उक्त ढलौटको मूर्तिहरुले विहारलाई शोभायमान बनाएका छन्।

(८) विश्वशान्ति स्तुपा

विश्वशान्ति स्तुपा कास्कीको पुम्दीभुम्दीको अनदुडाँडामा अवस्थित छ। यस स्तुपामा पुग्न पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिव ७ कि.मी पश्चिम—दक्षिण जानु पर्दछ। स्तुपामा जाने विभिन्न बाटोहरु भएता पनि छोरेपाटन डेभिड फलबाट करीब १ घण्टा उकालो चढेर स्तुपा क्षेत्र पुग्न सकिन्छ। उच्च स्थान र शान्त वातावरणमा रहेको हुनाले यस स्तुपाको पर्यटकीय महत्व अत्यन्तै ठूलो रहेको पाइन्छ। फेवातालको दक्षिण पश्चिमको रमणीय उच्च स्थानमा अवस्थित यस स्तुपाबाट उत्तरतर्फ फैलिएको लामो हिमश्रृङखला स्पष्ट देख्न सकिन्छ। यो स्तुपा वौद्ध अनुयायीहरुका लागि पूजनीय तथा दर्शनीय स्थल मानिन्छ। निप्पोन जान न्याहोनिका भिक्षु निचिदाप्सु फुजीले संसारभर विश्व शान्तिका स्तुपाहरु निर्माण गरी आणविक तथा परमाणु हातहतियारको विरोध गर्दै हिड्ने सन्दर्भमा कास्की जिल्लाको यस स्थानमा शान्ति स्तुपा निर्माण गरिएको मानिन्छ।

(९) हरिहर गुफा

पोखराको पूर्वाेत्तर अन्नपूर्ण श्रृङखलाको काखमा अवस्थित यो गुफा भलाममा पर्दछ। हरिहर गुफाको नामाकरण सम्वन्धमा स्वामी धर्मानन्द सरस्वतीका अनुसार “परापूर्वकालमा नेपालमा शिवमार्गीहरु र विष्णुमार्गीहरु बीच मनमुटाव रहेको अवस्थालाई मध्यनजर गरी धार्मिक सहिष्णुता तथा समन्वयात्मक भावना सिर्जना गर्ने उदेश्यले यस स्थानमा गुरु दिगम्वरको राय सल्लाहअनुसार आवल व्रम्हचारी अमर गिरीले शिव तथा विष्णुको संयुक्त मूर्ति बनाई स्थापना गरेका थिए। हरि भनेको विष्णु र हर भनेको शिव बुझाउने अर्थमा यसको नाम राखिएको हो। कटुस, चिलाउने, नारेश्वर, सिमल, आँप आदि घना बनबीचगुफा ज्यादै रमणीय छ। यहाँबाट पोखरा उपत्यका एवं विभिन्न हिमश्रृङखला देख्न सकिन्छ।

(१०) नारायणस्थान मन्दिर

पोखरा नदीपुरस्थित कन्या क्याम्पसको दाहिने तर्फ ३–४ मिनेट पैदल हिडेपछि नारायणस्थान मन्दिरमा पुग्न सकिन्छ। पूर्वमा सेती, पश्चिम उत्तरमा नीलकण्ठ महादेवको मैत्री चैत्य तथा नारायणस्थान खुल्ला जग्गाको परिसरमा यो मन्दिर रहेको छ। यस मन्दिरको निर्माण प्यागोडा शैलीमा छ। नारायणस्थान मन्दिर पनि आन्तरिक र वाह्य धार्मिक पर्यटकहरुलाई आकर्षण स्थल बन्न सक्ने देखिन्छ।

(११) सदाशिव मन्दिर, ढुंगेसाँघु

कास्की जिल्लाको पोखरा ढुंगेसाँगुमा यस मन्दिर अवस्थित छ। पूर्वमा सेती नदि तथा रातो पहिरो, पश्चिममा घारीपाटन, उत्तरमा विमानस्थल क्षेत्र र दक्षिणमा महतगौंडाको बीचमा रहेर यो मन्दिर पनि लामो इतिहास बोकेको मन्दिर हो। शिवरात्रीको अवसरमा यहाँ विशेष पूजा अर्चना गर्ने गरिन्छ।

(१२) लक्ष्मीनारायण मन्दिर

महेन्द्रगुफाबाट केही माथि पुगेपछि समुन्द्र सतहबाट करीब ४००० फिटको उचाइमा टापु रहेको छ, जसलाई माझठान टापु भनिन्छ। हावापानी तथा वातावरणीय दृष्टिकोणले विशुद्ध उक्त माझठान टापुमा लक्ष्मीनारायण मन्दिर तथा कर्णश्वर (शिवजी) मन्दिर रहेका छन्। यो स्थल पनि आन्तरिक तथा वाह्य धार्मिक पर्यटकहरुका लागि आकर्षक स्थल बनेको छ।

(१३) तालवाराही मन्दिर

फेवातालको बीचमा यो मन्दिर रहेको छ। कास्कीका राजा कुलमण्डन शाहलाई सपनामा आफूलाई तालको बीचमा स्थापित गराई सेवा गर्नु भनेकाले यिनको मन्दिर तालको बीचमा बनाइएको किम्वदन्ती पाइन्छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरम फेवातालको बीचमा रहेको कारण पनि यस मन्दिरको ठूलो पर्यटकीय महत्व छ। आन्तरिक तथा वाह्य सवै पर्यटकले पोखराको दर्शन गर्ने स्थलहरुमध्येको एक स्थल हो। काष्ठकलाको वैशिष्ठताले भरिपूर्ण यस मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ। यस मन्दिरमा फेवातालबाट डुंगा चढेर जानुपर्छ।

(१४) भद्रकाली मन्दिर

पोखराको कुँडहरमा अवस्थित यो मन्दिर एउटा सानो डाँडामाथि मुडुलो थुम्को भन्ने स्थानमा रहेको छ। मन्दिरकै परिसरमा गणेशको मन्दिर समेत रहेको छ। धार्मिक तथा पर्यटकिय दृष्टिले यी मन्दिरहरु पोखराकै शोभा बन्न पुगेका छन्। माछापुच्छ्रे, धौलागिरी तथा अन्नपूर्ण हिमालहरु तथा पोखरा आसपासका क्षेत्र समेत यहाँबाट दृश्यावलोकन गर्न सकिन्छ।

(१५) शोभा भगवती, रानीपौवा

पोखराको महेन्द्रपुल नजिक रानीपौवा भन्ने स्थानमा यो मन्दिर अवस्थित छ। यस मन्दिरमा भगवती देवीको स्थापना वि.सं. १९७३ सालमा स्व.नारायणदास रञ्जितकारले गरेको पाइन्छ। शोभा भगवती मन्दिरकै परिसरको ठीक पूर्वतिर एउटा शिव मन्दिर पनि निर्माण गरिएको छ। आन्तरिक तथा धार्मिक पर्यटनका दृष्टिले पोखरामा यसको पनि महत्व रहेको पाइन्छ।

(१६) सराङकोट

पोखरा बजारबाट उत्तरपश्चिम अवस्थित सराङकोट समुन्द्र सतहबाट १५९२ मिटरको उचाइमा रहेको रमणीय दृश्यावलोकनका लागि प्रख्यात क्षेत्र हो। पोखरा आउने पर्यटकहरुका लागी यो स्थान ज्यादै महत्वपूर्ण मानिन्छ। शहरको छोटो दुरीमा भइकन पनि यहाँबाट सूर्योदय तथा सूर्यास्तको अनुपम दृश्य, उत्तरपट्टीमा हिमालहरुको मनमोहक दृश्य र नजिकैको फेवाताल लगायत पोखराका दृश्य देख्न सकिन्छ। यहाँ एउटा भ्यु–टावरको समेत निर्माण गरिएको छ। यहाँ प्याराग्लाइडिङ गर्ने पर्यटकहरुको पनि घुइचो लाग्ने गर्दछ।

(१७) सेती नदी

पर्यटकीय दृष्टिले ज्यादै महत्व बोकेको यस सेती नदीको प्राकृतिक वहाव पनि विचित्रको एवं रहस्यमय देखिन्छ। उद्गमस्थल माछापुच्छे्र हिमाल रहेको यस नदी पोखराको बगरस्थित के आई सिंह पुलनेर आई भासिएर भित्रभित्रै बग्दछ, केही तल पृथ्वीनारायण क्याम्पस नजिक बाहिर निस्किएर बगेको देखिन्छ, नदीपुरबाट पुनः पाताल प्रवेश गरी रामघाटमा पुनः देखिन्छ। रामघाटबाट भूमिगत भई नदी ढुङ्गेसाँगु नजिक पुगी दक्षिणतर्फ लागेको देखिन्छ। करिव २०० फिट भन्दा गहिरो खोंच बनाई बगेको यो नदी धार्मिक दृष्टिले पनि प्रख्यात मानिन्छ। नदीको तल्लो भागमा जलयात्रा पनि गरिन्छ।

(१८) वेगनास ताल

लेखनाथमा अवस्थित यस तालको क्षेत्रफल ३.७३ वर्ग कि.मी रहेको छ, ताल ७.५ देखि १०.६ मिटरसम्म गहिरो छ। वि.सं. २०४४ मा बाँध बाधेपछि १५३ हेक्टर क्षेत्रफल वृद्धि भई तालको क्षेत्रफल ३७३ हेक्टर पुगेको छ। प्राकृतिक जलाशयभित्र मत्स्य भूरा उत्पादन केन्द्र रहेको यो ताल पनि कास्कीको प्रमुख पर्यटकीय स्थल अन्र्तगत पर्दछ। अन्नपूर्ण तथा माछापुच्छे्रको मनोरम दृश्य तालको किनारबाट देख्न पाइन्छ। सत्य युगमा ऋषिमुनीहरुले एक तलाउको निकटमा सोमयाग महायज्ञ गरी वौद्धिक एवं देवताहरुलाई अमृतपान र हवन गर्न लाग्दा यस बैदिक कार्यबाट अत्तालिएर शंखासुर नामक दैत्यको महायज्ञमा विघ्न पुर्‍याउन यज्ञस्थलबाट वेद र आफनो रक्षाका लागि भगवानको शरण परेका र भगवानले यस्तो थाहा पाई हराएको वेद खोजी गर्न मत्स्य अवतार धारण गरी शंखासुर वेद नाश गर्न तलाउमा पसी शंखासुरको वध गरी वेद खोजेर ल्याउने कार्य गरी वेदको रक्षा गर्ने काम भयो। यसरी वेदनाश गर्न खोजिएको तलाउ भएकाले वेदनाथ तलाउ (ताल) भन्न थाले, जुन पछि गएर वेगनास ताल नामले चिनियो। पो माछाका लागि प्रख्यात ताल पनि हो।

(१९) रुपा ताल

लेखनाथमा रहेको यस तालको क्षेत्रफल १.१५ वर्ग कि.मी रहेको छ। ४.५ मिटर देखि ६ मिटर सम्म गहिराई भएको यो ताल पनि ज्यादै मनमोहक छ। श्राप पाएका कारण सुकन्या नाम गरेका एकजना राजकुमारीले वृद्ध अन्ध ऋषिको सेवा गरी बसेको देखेर स्वर्गका वैद्दा अश्विनी कुमारले युवती सुकन्याको उद्धार गरिदिने सोचेर च्यवन ऋषिको शरीर तरुण बनाइदिने भनी ऋषिसहित अश्विनी कुमार तरुण रुप धारण गराउन यसै तपोस्थल तलाउमा पसे। तलाउमा स्थान गरेर बाहिर निस्कदा ऋषिको रुप धप्धप् बलेको युवकको रुपमा परिष्कृत भयो। यसरी च्यवन ऋषिको रुप प्रादुर्भाव भएको तलाउलाई रुप तलाउ भन्दै जाँदा अपभ्रंश भई रुपाताल भनिएको मानिन्छ। यस ताल छेउ बनाइएको च्यवन आश्रमको च्यवन कुण्डको नियमित स्नान गर्नाले विभिन्न किसिमका नेत्र रोगहरु निदान हुने विश्वास गरिन्छ।

(२०) खाष्टे ताल

लेखनाथमा रहेको खाष्टे तालको क्षेत्रफल १३.५७ हेक्टर रहेको छ। यो ताल वेगनाश, रुपा, मैदी, दिपाङ तालहरु भन्दा पश्चिममा र गुदे तालभन्दा पूर्वामा एंव न्यूरेनीसंगै रहेको छ। यो ताल पनि लेखनाथ क्षेत्रको पर्यटकीय गन्तव्य हो।

(२१) दिपाङ ताल

दिपाङ सात तालको शहर लेखनाथको यो चौथो ठूलो ताल हो। कुल क्षेत्रफल ८.९८ हेक्टर रहेको यो ताल पनि पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने देखिन्छ। यसको संरक्षण र विकास गर्न जरुरी छ। हाल ताल संरक्षण समितिले ताल संरक्षणका लागि पहल गरिरहेको छ।

(२२) गुदे ताल

कास्की जिल्लाको लेखनाथमा पर्ने यस गुदे तालको क्षेत्रफल ४.९८ हेक्टर रहेको छ। यस तालबाट प्राप्त हुने गुँद थुतेर केही मात्र सुकुल गुन्द्रको घरेलु उत्पादन गरिने भएकोबाट यसको नामाकरण गुदे ताल हुन पुगेको जनविश्वास रहेको पाइन्छ। हाल यो ताल अतिक्रमणको चपेटामा पर्दै गएको छ।

(२३) न्यूरेनी ताल

लेखनाथमा रहेको यो तालको क्षेत्रफल २.८३ हेक्टर रहेको छ। लेखनाथका सात तालमध्येको यो ताल लेखनाथको दोस्रो सानो ताल हो। यो ताल पर्यटकीय दृष्टिले आकर्षक भए पनि पछिल्लो समय क्रमशः अतिक्रमणको चपेटामा पर्दै गएको छ।

(२४) मैदी ताल

लेखनाथका तालहरुमध्येको सानो ताल मैदी ताल हो। लेखनाथ र कालिकाको सीमानामा रहेको यस तालको क्षेत्रफल १.१७ हेक्टर रहेको छ। यो ताल वेगनास र रुपातालभन्दा पश्चिम तथा गुदे, दिपाङ, खाष्टे र न्यूरेनी तालभन्दा पूर्वापट्टी अवस्थित छ। यो ताल पनि संरक्षणको अभावमा अतिक्रमित हुँदै गइरहेको छ।

(२५) क्षेत्रीय संग्रहालय

गण्डकी क्षेत्रको जनजीवन, सामाजिक तथा साँस्कृतिक रहन सहन र भेषभूषासँग सम्वन्धित विविध पक्षहरुको चित्रण गर्ने किसिमका सामाग्रीहरु संकलन गरी संग्रहालयको सञ्चालन वि.सं. २०४१ माघ २३ गते गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभाग अन्र्तगत यो संग्रहालय सञ्चालित छ। पोखराको नयाँबजारमा अवस्थित यो संग्रहालयको अवलोकन गर्न वार्षिक २०-२५ हजार भन्दा बढी पर्यटकहरु आउने गर्दछन्।

(२६) अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय

पोखराको रातोपैह्रोमा यो संग्रहालय पर्यटन मन्त्रालयको सहयोगमा स्थापना गरिएको हो। यो संग्रहालयको उद्घाटन वि.सं. २०६० साल माघ २२ गते गरिएको हो। संसारका अग्ला पर्वतहरु तथा यसमा आरोहण गर्ने साहासी आरोहीहरुको ऐतिहासिक तथ्यहरु र यी पर्वतहरुको सेरोफेरोमा वसोवास गर्ने मानिसहरुको संस्कार, संस्कृति, भौगोलिक संरचना, वनस्पति तथा जीवजन्तु र अन्य क्रियाकलापहरु समेतको यथार्थसंग संग्रहालयको माध्यमबाट स्वदेशी एवं विदेशी अवलोकनकर्तालाई जानकारी दिने उद्धेश्यले स्थापना गरिएको यस संग्रहालयमा मुख्य ४ वटा प्रदर्शनी कक्षहरुको व्यवस्था गरिएको छ। (१) विश्वकै पर्वतीय जनजीवन झल्काउने पर्वतीय मानकक्ष, (२) अन्र्तराष्ट्रिय पर्वतश्रंखला सम्वन्धी विविध जानकारी दिने पर्वतीय कक्ष, (३) पर्वतीय क्षेत्रमा हुने विविध गतिविधि झल्काउने पर्वतीय क्रियाकलाप कक्ष र (द्ध) सहयोगी तथा समसामयिक कक्ष।

(२७) गोर्खा स्मृति संग्रहालय

गोर्खा सैनिकमा भर्ती भई उनीहरुले विश्वमा देखाएको बहादुरी भल्कने र सोसँग सम्वन्धित वस्तुहरु राखेर यो संग्रहालय सञ्चालन गरिएको छ। पोखराको केआई सिंह पुल नजिकै यो संग्रहालय छ। यस संग्रहालयभित्र गोर्खाली सेनाहरुको इतिहास, उनीहरुले प्रयोग गरेका विविध वस्तुहरु, गोर्खाली सेनाहरुले प्राप्त गरेका उपलब्धिहरु संग्रहित गरिएको छ। संग्रहालयले विद्यार्थीहरु लगायत स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मनोरञ्जनका साथसाथै विभिन्न ज्ञान र जानकारी समेत दिने गर्दछ।

(२८) अन्नपूर्ण संग्रहालय

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको हाताभित्र रहेको अन्नपूर्ण संग्रहालय पुतली संकलनमा नेपालकै पहिलो दर्जाको संग्रहालय हो। यस संग्रहालयमा ५०० भन्दा बढी किसिमका पुतलीहरुका प्रजाती रहेका छन। यो संग्रहालय पुतली सम्वन्धमा रुचि राख्ने अनुसन्धानकर्ताहरु एवं अन्य पर्यटकहरुका लागि आकर्षक मानिन्छ।

(२९) माछापुच्छ्रे हिमाल

कास्की जिल्लाको पोखरा बजारबाटै दृश्यावलोकन गर्न सकिने सुन्दर माछापुच्छे्र हिमाल कास्कीको एउटा अत्यन्त महत्वपूर्ण पर्यटकीय स्थल हो। करिव ६९९७ मिटर उचाइमा रहेको यस सुन्दर हिमालको हालसम्म आरोहणमा प्रतिवन्ध लगाइको हुँदा यस हिमाललाई कुमारी हिमाल (भर्जिन माउण्टेन) पनि भन्ने गरिन्छ। सुन्दर माछापुच्छे्र हिमाल प्रष्टसँग खुल्दा पोखराबाट हिमालमा प्रष्ट रुपले बाघाकृति पनि देख्न सकिन्छ। पोखरा बजार छेउको रमणीय तालको सङलो पानीमा पनि यस हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। नेपालको प्रमुख पर्यटकीय नगरी पोखरा बजारबाटै दृश्यावलोकन गर्न सकिने, आधार शिविरसम्म पुग्न पनि छोटो दुरी रहेको, हालसम्म कुमारित्व भंग नभएको हिमाल हो माछापुच्छ्रे।

(३०) अन्नपूर्ण प्रथम

८०९१ मिटर उचाइमा रहेको यो हिमाल म्याग्दी तथा मनाङ जिल्लासँगको सीमानामा अवस्थित छ। यो आरोहणका लागि नेपाल सरकारले खुला गरेको हिमाल हो। विभिन्न आरोहण दलहरुले आरोहण गरिसकेको यस हिमालको आधार शिविरसम्म पुग्न पदमार्ग भने केही चुनौतीपूर्ण छ।

(३१) अन्नपूर्ण दोश्रो

७२१९ मिटर अग्लो यस हिमाललाई अन्नपूर्ण दक्षिण पनि भन्ने गरिन्छ। आरोहणक लागि खुला गरिएको यो हिमाल आरोहण गर्न सहज भएको अनुभवीहरु बताउँछन्। पोखराबाट यस हिमालको आधार शिविरसम्म हिमाल आरोहीको अतिरिक्त पदयात्रीहरु समेत प्रशस्त मात्रामा जाने गर्दछन्। मनोरम यो हिमाल पनि यस क्षेत्रको पर्यटकीय आकर्षणको केन्द्र विन्दु बनेको छ।

(३२) इन्द्र गुफा

कास्की जिल्लाको हंसपुरको माथिल्लो टापुमा यो इन्द्र गुफा अवस्थित छ। स्याकलुङकोटदेखि करीब २.५ कि.मी पूर्वमा रहेको गुफाको उचित व्यवस्थापन भई नसकेतापनि गुफाको लम्वाई मादी नदीसम्म पुगेको स्थानीय बासिन्दाको अनुमान रहेको छ। यस गुफामा वर्षको एकपटक चैत्र बैशाख महिनामा पूजा गरी खिर र रोटी चढाउने र पूजा सिद्धिएपछि हरहर महादेव भन्दै घरघरबाट भाँडोमा पानी ल्याई एकआपसमा छ्यापाछ्याप गरिने र पानीले छ्याप्दा कोही रिसाउन नपाइने प्रचलन रहेको छ।

(३३) खारपानी तातोपानी

कास्की जिल्लाको सार्दिखोलास्थित सेती नदीको किनारमा रहेको तातोपानी खारपानीको नाउँले प्रसिद्ध छ। जहाँ आई नुहाउनाले विभिन्न रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ। यहाँ प्रत्येक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गर्दछ भने पर्यटकहरुका लागि क्याम्पिङ साइटको समेत व्यवस्था रहेको छ।

(३४) कृष्ती (मट्टीखान)

भरतपोखर, निर्मलपोखरी पर्यटकीय क्षेत्र कास्की जिल्लाको दक्षिण भेगमा अवस्थित भरतपोखरी, निर्मलपोखरी तथा कृष्ती नाच्नेचौरका विभिन्न स्थानहरु समेत पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको भनी यस क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा घोषणा गरिएको छ। यो क्षेत्रमा खासगरी निर्मलपोखरीमा झिमलथुम, फोगसिंह डाँडा, काहुले डाँडा, कोत डाँडा र डाँडाको पोखरी, शिव मन्दिर, गणेश स्थान, कोतभैरव मन्दिर, जलकन्यादेवी मन्दिर, शिव मन्दिर, जलदेवी मन्दिर, गोपेश्वर शिव मन्दिर आदि दर्शनीय मनोरम स्थलहरु रहेका छन्। यसैगरि कृष्ती नाच्नेचौरको मट्टीखान क्षेत्र पनि प्रसिद्ध पर्यटकीय क्षेत्र हो।

(३५) पुम्दीभुम्दी

पर्यटकीय क्षेत्र कास्की जिल्लाको पश्चिमपट्टी रहेको पुम्दीभुम्दीमा पर्ने विभिन्न पर्यटकीय स्थलहरुको कारणले यस क्षेत्रमा पनि पर्यटकहरुको निकै गतिविधिहरु देख्न सकिन्छ। विशेष गरी यस क्षेत्रमा पर्ने पोखरा भ्यू–प्वाइन्ट (सिदार्थ राजमार्ग) माछापुच्छे्र भ्यू–प्वाइन्ट र तेश्रोलेक यहाँका पर्यटकीय आकर्षणका केन्द्रहरु हुन्।

(३६) स्याकलुंकोट

कास्की जिल्लाको हंसपुरमा रहेको स्याकलुंकोट समुद्र सतहदेखी १४२० मिटरको उचाइमा रहेको चुचुरो हो। यसको वरिपरि रङ्गी विरङ्गी गुराँसले सिंगारिएको छ, उत्तरतर्फ नजिकै माछापुच्छे्र हिमाल र अन्नपूर्ण हिमश्रृंखला, पूर्वतर्फ सुन्दर मादी नदीको दृश्य, दक्षिणतर्फ महाभारत र चुरे श्रृंखला एवं पश्चिमतर्फ रुपा वेगनास उपत्यकाको दृश्य देख्न सकिन्छ। पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको यस ठाउँमा सन् १९८० मा वेलायतका राजकुमार चाल्र्स पनि पुगेका थिए। यस ठाउँमा हाल नेपाल पर्यटन वोर्ड समेतको सहयोगमा पर्यटकीय भ्यू–टावरको निर्माण भएको छ।

(३७) घान्द्रुक

घान्द्रुक कास्की जिल्लामा रहेको एउटा रमणीय पर्यटकीय गाउँ हो। अन्नपूर्ण र माछापुच्छे्र आधार शिविर जाने बाटोमा पर्ने घान्दु्रक गुरुङहरुको वस्ती हो। घान्द्रुकलाई ढुङ्गेनी गाउंपनि भनेर चिनिन्छ। यो गाउँ नेपालको सुविधा सम्पन्न गाउँ हो, जहाँ प्रशस्त मात्रामा होटल, लज, रिसोर्टहरु छन्। यस रमणीय गाउँको वस्ती, रहन सहन, प्राकृतिक सौन्दर्यता, आदिले गर्दा विदेशमा यस गाउँको ठूलो प्रसिद्धि रहेको छ। समुन्द्र सतहबाट झण्डै १९०० मिटरको उचाइमा रहेको घान्दु्रक नेपालमा ग्रामीण पर्यटनको नमूनाको केन्द्र पनि हो। घान्द्रुक नेपालको सबैभन्दा आकर्षक गाउँ हो।

(३८) धम्पुस तथा लान्द्रुक

कास्की जिल्लामा पर्ने धम्पुस तथा लान्द्रुक पनि रमणीय ग्रामीण वस्ती हो। सूर्योदय, हिमाली दृश्य आदि अवलोकनका लागि यी अनुपम स्थलहरु पनि हुन्। धम्पुस जानका लागि पोखराबाट फेदीसम्म गाडीमा गई फेदीबाट करीव २ घण्टामा धम्पुस तथा करिव ५ घण्टामा लान्दु्रक पुग्न सकिन्छ। सिधै धम्पुससम्म नै गाडीमा जान पनि सकिन्छ। यी दुवै माछापुच्छे्र तथा अन्नपूर्ण आधार शिविरतर्फ जाने पदयात्रा मार्गहरुमा पर्ने रमणीय स्थलहरु हुन्। यहाँ पर्यटकका लागि अत्याधुनिक होटलहरुको व्यवस्था छ।

(३९) सिकलेस

सिकलेस गाउँ कास्की जिल्लाको मनोरम पहाडी गाउँ हो। जिल्लाको उत्तरी भागमा, हिमालको काखमा रहेको यो गाउँ साविकको पार्चे गाविसमा पर्दछ, जहाँ गुरुङ बस्ती रहेको छ। होमस्टेका लागि प्रख्यात रहेको यस गाउँमा गुरुङ जातिसँग सम्बन्धित भेषभूषा, हिमश्रृङ्खला र कास्कीका मनोरम स्थानहरुको दृश्यावलोकन गर्न सकिन्छ। एउटै शैलीका ६०० भन्दा बढी घरहरु रहेको यो स्थान नेपालको चर्चित गाउँभित्र पर्दछ।

(४०) पञ्चासे क्षेत्र

पञ्चासे क्षेत्र साविक गण्डकी र धौलागिरी अञ्चलको सीमानामा पर्दछ। पञ्चासे क्षेत्र उक्त दुवै अञ्चलभित्र पर्ने स्याङजा, कास्की र पर्वत जिल्लाको त्रिकोणात्मक संगमस्थलको रुपमा रहेको पाइन्छ। समुन्द्र सतहबाट करिव ७८४ देखि २५०९ मिटर उचाइमा रहेको पञ्चासेको पूर्व तथा उत्तरमा कास्कीको भदौरेतामागी, दक्षिणमा पर्वतको आर्थर, पश्चिममा पर्वतको चित्रे, पश्चिममा पर्वतको राम्जादेउराली, दक्षिणमा स्याङजाको वाङसिङ पर्दछ। यस्तै स्याङजाको वाँगेफडके र कास्कीको सल्यान, ढिकुरपोखरी पनि पञ्चासेसँग प्रत्यक्ष सम्वन्धित छन्।

पञ्चासेको लेकबाट धौलागिरी, माछापुच्छे्र, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाहरुको अनुपम दृश्यावलोकन गर्न सकिनुका साथै यहाँबाट स्याङ्जा, पर्वत जिल्ला, बागलुङ्ग, कास्की र फेवाताल, म्याग्दीका धेरै भागहरु समेत एउटै स्थानमा उभिएर देख्न सकिन्छ। त्यसो त यो क्षेत्र स्वयम्मा पनि ज्यादै मनोरम छ। संसारमै दुर्लभ प्रजातिका लालीगुँरास, सुनाखरी आदि यहाँका मौलिक विशेषताहरु हुन्। धार्मिक दृष्टिले समेत श्रवणकुमारसँग यसको चिनारी जोडिएको भनाइ रहेको पाइन्छ।

(४१) अन्य मन्दिरहरु

कास्की जिल्लामा पोखरा नगरभित्र फूलबारीको महादेव मन्दिर, मासबारको पुश्करेश्वर शिव मन्दिर, काहुँ गा.वि.स.मा रहेको देउराली मन्दिर, चण्डि मन्दिर, राधाकृष्ण मन्दिर, सर्वेश्वर महादेव मन्दिर, कालिका मन्दिर, सन्तानेश्वर मन्दिर, मणी शिवालय मन्दिर, जयकोट बौद्ध मन्दिर, घान्द्रुकमा रहेको मेश्रमवराह, तौजी वराह, पोजनेव वराह, कोटडाँडा, हंसपुरमा रहेको लिप्यानी, रामकोट भूमिको स्थान, देउरालीको मन्दिर, औतारी माईको स्थान, सरस्वती मन्दिर चापाकोटमा रहेको पचभैया झाझी मन्दिर, देउराली मन्दिर, मकन्ना देउराली मन्दिर पनि पर्यटकीय गन्तव्य हुन्।

(४२) अन्य गन्तव्यहरु

भाचोकमा रहेको चेपाङ छेर्वाग गुम्बा, रिभानमा रहेको शिवालय मन्दिर, सिद्धवराह गुठी मन्दिर, लाहाचोकमा रहेको अर्मलाकोट मन्दिर, हेम्जामा रहेको ऋषिकुल आश्रम, टेब्रिकोट रुद्र महादेव गुठी मन्दिर, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, आर्वाविजयमा रहेको प्रजु बसेको स्थान रतन पाण्डेको मन्दिर, सुनपदाली शिवालय मन्दिर पनि धार्मिक एवं पर्यटकीय दृष्टिले अनुपम मानिन्छन्।

त्यस्तै चाण्डेको स्थान ढिकुरपोखरीमा रहेको पाउँदुरकोट सार्दीखोलामा रहेको भुर्जुङखोला उपत्यका, हिलटप, घान्द्रुककै माछापुच्छ्रे तथा अन्नपूर्ण बेसक्याम्प, सैमराङको लम्तरी लेक, सिल्दुजुरेको घडेरी, लाहाचोकको पानीखोला गुफा, आर्वा्विजयको झुप्पीको चौतारा, मडी, ढिकुरपोखरीको नाउडाँडा भ्यू–टप, चाकलडाँडा, लेखनाथको कन्दनी डाँडा, सुन्दरीडाँडा, ल्वाङघलेल क्षेत्र आदि स्थलहरु पनि पर्यटकीय स्थलको रुपमा रहेका छन्।